काठमाडौँ, ३० भदौ । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ ।
मोरङ प्रहरीका अनुसार आज दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको हो ।
मोरङका एसपी नारायणप्रसाद चिमोरियाले कसको कंकाल हो भन्ने खुल्न नसकेको बताए । हालैको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले विराटनगरको भाटभटेनीमा आगजनी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार, सोही आगजनीको बीचमा लुटपाटका लागि भित्र पसेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्छ ।
शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकोले पहिचान गर्न कठिन भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी प्रदर्शन भएको थियो । सोही क्रममा विराटनगरसहित कोसी प्रदेशका विभिन्न स्थानमा रहेका भाटभटेनीका शाखाहरूमा तोडफोड र आगजनीका घटना भएका थिए ।







