धनगढी, ४ जेठ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले शनिबार धनगढीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रियामा उनले देशका जनताले लडेर ल्याएको गणतन्त्र फालेर राजतन्त्र ल्याउन कसैले नसक्ने धारणा राखे।
उनले जनताको साथमा आन्दोलनका बलमा फालिएको पुरानो राजतन्त्रात्मक व्यवस्था पुनःल्याउने योजना आमनागरिकको नभएको धारणा राखे । अध्यक्ष केसीले गणतन्त्र पक्षधर पार्टीबीच मतभेद् र अन्तरविरोध भइरहे पनि लोकतन्त्र र गणतन्त्र जोगाउन एक ठाउँमा आउन जरुरी रहेकामा जोड दिए ।
गणतन्त्र स्थापनापश्चात् जनतामा देशको विकास, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सकारात्मक परिवर्तन महसुस हुँदै गएको जनाउँदै गणतन्त्रमा पनि दलहरूले जनचाहनाअनुसार काम गर्न नसके जनतामा निराशा उत्पन्न हुने बताए ।