काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ ।
यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जसअनुसार टोलटोलमा विपद् सूचक राख्ने, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने तय भएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ । यसकासाथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रुपमा १५ दिनको विपद् व्यवस्थापन तालिम संचालन गरिने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ । सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न कम साधनश्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिने जनाइएको छ ।