काठमाडौँ, ३ फागुन । हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका-१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर भएका छन् । अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।