गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि कारबाही गर्न निर्देशन दिएका छन् ।
आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर गृहमन्त्री लेखकले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका हुन् । मन्त्री लेखकले भने, ‘घटनामा संलग्न जोसुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु । समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु ।’
माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । आइतबार प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।
त्यस्तै, मंगलबार राति धनगढीको ट्राफिक चौराहमा पनि ड्युटी रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको थियो । प्रहरी स्रोतका अनुसार ड्युउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा छन् ।