काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरङ्कुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ ।’
राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ’– अध्यक्ष प्रचण्डले भने– ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’ पाथीभरा केबलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ? भनेर प्रश्न गरे । टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईँहरूले नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई थुन्ने र मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरङ्कुश सोच भएको उल्लेख गर्दै भने– ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईँहरू ? संविधानभन्दा माथि हो ? तपाईँहरू मालिक र नागरिक दास हो ?’
प्रचण्डले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित नभएको भन्दै आक्रोश पोखेका छन् । विपक्षी दलको नेताको हैसियतमा संसदमा संवोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन् ।
‘संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताहरु उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ । मैले गम्भीर रुपले नै प्रम आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्ता पक्षका सबैभन्दा ठुलो दलका नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ’, प्रचण्डले भने, ‘अहिलेसम्म आउनु भएको छैन । म आशा गर्छु उहाँ आउनुहुनेछ ।’