काठमाडौँ, २३ माघ । त्रिशुली– काठमाडौँ सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा २२ वर्षीय जीवन राईको मृत्यु भएको छ । उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकल जोगाउने क्रममा बसलाई भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो । बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।