झापा, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण वा अनुदान दुवै हुन सक्ने बताएका छन् ।
झापाको बिर्तामोडमा सोमवार आयोजित एमालेका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बीआरआईबारे यस्तो बताएका हुन् । बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ सहकार्य, संयुक्त लगानी पनि हुनसक्ने ओलीको भनाइ थियो । ओलीले ऋण बीआरआई, अनुदान बीआरआई पनि हुन सक्ने र यसका धेरै आयामहरु रहेको तर्क गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुनसक्छ या संयुक्त लगानी पनि हुनसक्छ । बीआरआई भनेको के हो ? भन्ने नबुझेर धेरै कराएका छन् । चीनले आफूले बाहिरका देशलाई दिने सहयोग पनि बीआरआई अन्तर्गत पर्छन् । हामीले आर्थिक विकाससँग सम्बन्धित कुरालाई जोड दिएका छौं । हाम्रो जस्तो गरिब देशले कुनै देशसँग ऋण लिनै हुँदैन भन्न हुँदैन, प्रतिफल दिने ठाउँमा ऋण लिएर पनि काम गर्नुपर्ने हुनसक्छ । देशलाई नोक्सान गर्नेगरी कुनै काम गर्दैन । बीआरआईको बारेमा एउटा रूपरेखा सम्झौता गरेका छौं । बीआरआईमा हामीले गरेको सहमति ठिक छ । यो १५३ देशले स्वीकारेको विषय हो । यसले हाम्रो देशलाई लाभ पुग्नेगरी सम्झौता गरेको छौं । कसैले अलमलिनु पर्दैन । हामीले हाम्रो राष्ट्रिय हित छाड्दैनौं ।’