काठमाडौँ, १४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको बताएका छन् ।
आज निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन) ले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले विश्वविद्यालयमाथि सरकारबाटै आक्रमण भएको बताएका हुन् ।
उनले भने, ‘त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए । तर, विडम्बना ! अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ’, ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवाञ्छित क्रियाकलाप गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ’, ।