काठमाडौँ, २५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गरेका छन् ।
आज बिहान मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘एमसीसीभन्दा अझ गम्भिर प्रकृतिको अर्को चिज छ । एसपीपी भनिन्छ त्यसलाई । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ । यो गम्भिर चिन्ताको विषय छ ।’
उनले थपे, ‘त्यसकारण यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने, आफ्नो कुर्सि बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? सैद्धान्तिक सहमति आफैं पनि गम्भिर विषय हो । त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’