विराटनगर, २५ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्न सकिने बताएका छन् ।
आज किराँत धर्मका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान् समाज सुधारक महागुरु फाल्गुनन्दले देखाएको सत्मार्गको पालनमा जोड दिए । मुख्यमन्त्री कार्कीले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाई अगाडि बढाउन सकिनेमा जोड दिएका छन् ।
मुख्यमन्त्री कार्कीले भने, ‘जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपी, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिरहने प्रेम र अहिंसाका प्रतीक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ ।’
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको विस १९४२ सालमा कोशी प्रदेशको इलाममा जन्म भएको थियो । फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । कोशी प्रदेश सरकारले उनको जन्मजयन्तीको दिनमा सार्वजनिक बिदा समेत दिँदै आएको छ ।