तेजबहादुर ढकाल
मिन बहादुर भामद्वारा कथा लेखन तथा निर्देशन गरिएको चर्चित फ़िल्म साम्भाला पनि हेरियो । फिल्म अति नै साहसी खालको रहेछ । उच्च हिमाली भेगका अति मनोरम दृष्यहरूको छायांकन गरिएको रहेछ । नायिकाको एकल लिड रोल प्रशंसा गर्न लायक़ छ । त्यस्तो विकट स्थानमा पुगेर छायांकन गर्नु पूरै टीमको ठूलो उपलब्धि हो । फिल्म अन्तर्राष्ट्रिय स्तरको रहेछ ।
तर यो फिल्म शाम्भालाको कथा बस्तुसँग भने मेल खाँदैन । शाम्भाला भनेको धर्तीको स्वर्ग हो । यो आध्यात्मिक अधिराज्य हो, जसका बारेमा विष्णु पुराणका साथै बुद्धकालको अन्तिम समयमा दिईएको भनिएको कालचक्र तन्त्रमा उल्लेख गरिएको पाइन्छ । शाम्भाला विगत २६०० बर्षमा सबैभन्दा बढी खोजिएको, त्यस बारे धेरै किताव र लेख लेखिएको, हिटलरदेखि रसियाका जारसम्मले सयौं समूहलाई साम्भालाको खोजिमा विभिन्न उच्च हिमाली क्षेत्रको पर्वतारोहणमा पठाईएको तर कसैले पनि भौतिक अवस्थिति पत्ता लगाउनु नसकेको रहस्यमयी गुप्त क्षेत्र हो । यसकै आधारमा दोस्रो विश्व युद्दको समयमा विरक्त भएर एकान्त र शान्ति क्षेत्रको कल्पना गर्दै जेम्स हिल्टनले उसको विश्व विख्यात उपन्यास “द लस्ट होराईजन” मा शाम्भालासँग मिल्दोजुल्दो स्थान सांग्रिलाको वारेमा उल्लेख गरि विश्वको ध्यान आकृष्ट गरेका थिए । मैले लुम्बिनी बुद्ध विश्वविद्यालयबाट बुद्धिजम एण्ड हिमालयन स्टडिजमा स्नातकोत्तर गर्ने क्रममा पनि खेन्पालुङ, शाम्भाला वा सांग्रिलालाई मेरो डाइरेक्टेड रिडिङ र थेसिसको शिर्षक भित्र समेटेको ,छु जसमा मैले यसको भौतिक अवस्थिती समेत उल्लेख गरेको छु । यसको प्रमुख सन्दर्भ सामाग्रीका रूपमा गुरू रिम्पोचे पद्मसम्भवको तिर्थ यात्रा बर्णनलाई लिएको छु ।
शाम्भाला धर्तीको गर्भमा लुकेको स्वर्ग हो । यो हिमालहरूका बिचको सुन्दर र हरियाली उपत्यका हो, जहॉं सँधै भरि अन्न र फलफूलहरू फलिरहेका हुन्छन् । बिचबाट हेर्दा अष्टदल कमल जस्तो देखिने यो उपत्यकामा घना जंगल छन् भने सेता नदीहरू बग्दछन् । लबै मानिसहरू शाहाकारी छन् । यहाँ काटमार हुंदैन । जंगलमा शिकार खेलिदैन । खोलामा माछा मारिदैन । सबै जीवजन्तु निस्फिक्री विचरण गर्दछन् । यहाँका सबै मानिसहरू सुखी र ख़ुशी हुन्छन् । कोही पनि बुढ़ा र रोगी हुंदैनन् । सबै मिलेर बस्दछन् । कहिल्यै पनि झैझगडा गर्दैनन् । उनिहरू संधै ध्यानमग्न र आनन्दमय हुन्छन् । त्यहाँ स्वर्गीय आनन्द हुन्छ ।
फिल्म शाम्भालामा हिमाली भेगमा लोपोन्मु बहुपति प्रथालाई मुख्य कथा बस्तु बनाईएको छ । नायिका पेमाको तासी, कर्मा र दावा गरि तीन जना पति भैकन पनि गाउमा शहरबाट आएका राम सर नामका शिक्षकसंग हल्का माँया बसेको र पेटमा भएको बच्चाको बारेमा समेत झुटा आरोप झेल्नु परेको देखिन्छ । टासीको खोजीमा पेमाको कठिन यात्राले कथा बस्तुलाई थप साहसिक र आध्यात्मिक बनाएको छ । तर फिल्ममा रक्सी र मासु खाएर मात्ने, मानिसको चरीत्र माथि प्रश्न उठाउने मात्र हैन महिलाले सत्य सावित गर्न धनुबाट तीर निसाना लगाउनु पर्ने देखिन्छ । सावित गर्न नसक्नेले आत्महत्या गरेको र मृतकको अन्त्यष्टी गर्न लामाले पनि नमानेका दृष्य हृदय विदारक छन् । फ़िल्म शाम्भालामा काठमांडौ, ल्हासा र धर्मशालाको बारेमा उल्लेख गर्दा वास्तविक कथा वस्तु फिक्का देखिन्छ । सुरुमा फ़िल्म शाम्भालाबाट सिल्क रोड तिर मोडिन्छ भने फिल्मको अन्त्यमा शाम्भालामा अवतरण गराउने प्रयास गरिएको देखिन्छ ।
फिल्ममा नायिका पेमाको गर्भमा सेतो याक पसेको र रिम्पोच्छेको अवतार भएको प्रसंग बौद्ध धर्म ग्रन्थ संग मेल खॉंदैन । लेखक स्वयंले मायॉं देवीको गर्भमा भगवान बुद्ध सपनामा सेतो हात्तिको रुपमा प्रवेश गर्नु भएको बर्णनबाट प्रेरित भएको बताउनु भएको छ । सॉंग्रिलामा नायकको स्थानीय शिक्षिकासंगको प्रेम बसेको प्रसंगलाई उल्टाएर राखिएको देखिन्छ । फिल्ममा सांग्रिलाको जस्तै सानो लामाश्री वा गुम्बामा छ जसमा थप त्यसका रिम्पोचे र शाम्भालामा उनको पुनर्जन्म, अवतार वा टुल्कुको कथा पनि समेटिएको छ । यसरी हेर्दा लेखक तथा निर्देशक भामले शाम्भालाको आध्यात्म र सांग्रिलाको फिक्सन दुवैको सन्दर्भलाई जोडेर आख्यानको रुपमा उच्च हिमाली भेगमा लोपोन्मुख अनौठो र रोचक बहुपतिप्रथाको संस्कृतिलाई विश्व सामु उजागर गर्न खोजेको देखिन्छ । फिल्म बौद्ध धर्म दर्शन भन्दा पनि थोरै पश्चिमाहरूको भोक र स्वदमा पस्किन खोजेको देखिन्छ । म चाही फिल्मको वास्तविक नाम शाम्भाला भन्दा साम्बाला भन्नु न्यायसंगत ठान्दछु । जे होस फिल्म एकपल्ट हेर्नै पर्ने खालको रहेछ ।
काठमाडौँ