काठमाडौँ, १ असोज । देशभर मनसुनी वायुको प्रभावका साथै पश्चिम बङ्गाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले देशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।






