काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले यहाँ अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताउनुभएको छ ।
नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लिलता फैलाउन सम्भव नहुने बताउनुुभएको हो । “हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुपर्छ । देश, समाज, परिवार र आफैलाई माया गर्नुपर्छ । मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुभाइमा तीजले ममता बढाउँछ । यस्ता महत्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।’’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो । मञ्चका उपाध्यक्ष पुष्पा अधिकारीका अध्यक्षतामा भएको कार्यक्रममा महिला आन्दोलनमा योगदानकर्ता पृथ्वीशोभा मैनालीलाई सम्मान गरिएको थियो ।