काठमाडौँ, ३१ असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने भएका छन् ।
आज बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र विश्वासको मत लिने टुंगोमा पुगेका एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनालले जानकारी दिए ।
त्यसै अनुसार मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिन लागेको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् । नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्रीको विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको प्रदेशसभामा बहुमत भएकाले उनी पदमुक्त हुने निश्चितजस्तै छ ।





