भक्तपुर २३ असार । राम चन्द्र प्रजापति । जनस्तरबाट विगत ६२ वर्षदेखि अनवरत रूपमा सक्रिय क्रियाशील संस्था नेपालभाषा र साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिँदै आएको अग्रणी संस्था विराट नेपालभाषा साहित्य सम्मेलन गुथि हो । नेपालभाषा, नेपालभाषा साहित्य, नेवाः संस्कृति र नेवा: अधिकारका लागि अनवरत क्रियाशील संस्था विराट नेपालभाषा साहित्य सम्मेलन गुथि, भक्तपुरको नवनिर्मित भवन `विराट छेँ´को नेपालभाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले मूलढोकामा लगाइएको प्राचिन ताला माता खोलेर समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै कवि योगेन्द्र प्रधानले विराट छेँ नेवा: भएकोमा गर्व गर्ने सबैको आस्थाको धरोहर भएको धारणा राख्नुभयो । गुथिका अध्यक्ष महेन्दगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन उक्त समारोहमा वरिष्ठ कथाकार हितकर वीर सिंह कंशाकार, नेवा: देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, सल्लाहकार त्रिरत्न शाक्य, नेपाल साहित्य मन्दिरका अध्यक्ष प्राज्ञ अगीव बनेपाली, नरेन्द्रभक्त हाडा, दामोदर श्रेष्ठ, कृष्णभक्त बोडे, सुलोचना सैजू, प्रदीप शाक्य लगायतका वक्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भवन निर्माण समितिका संयोजक रामगोपाल चगुठीले जनताको सहयोगमा रू ४६,७४,६५५.९०/- को लागतमा भवन निर्माण भएको विवरण प्रस्तुत गरेको थियो । कार्यक्रममा आय व्यय प्रतिवेदन सहितको ह्याउँबाला अङ्क लोकार्पण गरिएको थियो ।