काठमाडौँ, २३ असार । बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् ।देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ । विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।
दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता भएका छन् । अहिलेसम्म तनहुँ, गुल्मी ओखलढुङ्गामा गरेर सात जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठुला नदीमा जल सतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ ।