काठमाडौँ, १० असार । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक मंगलबार काठमाडौँमा हुने भएको छ ।
आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे बैठकमा छलफल हुनेछ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले नेतृत्व गर्नेछन् । उनी सोमबार नेपाल आउँदै छन् । उपविदेशमन्त्री सुनले नेपालको तीनदिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
परराष्ट्रका एक अधिकारीका अनुसार नेपाली पक्षले बैठकका एजेन्डाहरू तयार पारिसकेको छ । चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुनेछ । व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे छलफल हुनेछ ।
नेपाल–चीन सीमापार रेलमार्ग, नेपालले सन् २०१६ मा भएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि जोड दिनेछ । नेपालले उक्त सन्धि र सन् २०१८ मा भएको प्रोटोकल सम्झौताअनुसार हालसम्म भियतनामबाट बेसार आयात र नेपालबाट दक्षिण कोरियामा चाउचाउ निर्यात गर्न सकेको छ । साथै, नेपाल र चीनबीच यसै साता बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावबारे पनि छलफल हुने परराष्ट्रका अधिकारीले जानकारी दिए ।
सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने भएको छ । नेपाल र चीनबीच रसुवागढी–केरुङ सीमापार २२० केभी प्रसारण लाइन निर्माणबारे सम्झौता भइसकेको छ तर काम अघि बढ्न सकेको छैन । सन् २०२३ को अप्रिलमा बेइजिङमा बसेको बैठकमा नेपाली पक्षले चिनियाँ पक्षलाई नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्न आग्रह गरेको थियो ।
बैठकमा चीनले सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रगतिबारे चर्चा गर्ने सम्भावना छ । यस्तै, सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई चीनले उठाउने आकलन गरिएको छ ।