काठमाडौँ, ९ असार । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ ।
धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठुलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले काठमाडौँ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलाइन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।