काठमाडौँ, ८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा स्वतन्त्रको कुनै अर्थ नहुने बताएका छन्।
आज तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा एमालेका स्वर्गीय नेता श्रीमणि आचार्यको शालिक अनावरणपछि सम्बोधन गर्दै महासचिव पोखरेलले कतिपयले अब पुराना पार्टीले गर्न सकेनन् बरू स्वतन्त्र भन्ने गरेकोप्रति रोष प्रकट गरे ।
उनले भने, ‘राजनीतिमा स्वतन्त्रको कुनै अर्थ हुन्छ? कुनै अर्थ हुँदैन। त्यो समयलाई बर्बाद गर्ने कुरा मात्रै हो। अझ स्वतन्त्रका नाममा पार्टी अर्को बनाउनु झनै मजाकको कुरा हो,’ उनले भने ‘राजनीति सिद्धान्त आधारित, विचार आधारित उद्देश्य आधारित हुने हुन्छ भन्ने कुराको न्यूनतम ज्ञान पनि हुँदैन भने राजनीति नगर्दा हुन्छ।’
राजनीति बुझेर मात्रै गर्नुपर्ने भन्दै उनले नेपालमा बलिदानीपूर्ण संघर्षको नेतृत्व गरेका राजनीतिक दल काम नलाग्ने भए भन्नु तर सामाजिक सञ्जालमा सेलिब्रेटी भएकाहरूले राजनीति गर्न बित्तिकै त्यो सफल हुन्छ भन्नु मजाक हुने तर्क गरे।
‘भारतीय फिल्म उद्योगमा अत्यन्तै लोकप्रिय भएर महानायकहरू चुनाव लडेपछि, अमिताभ बच्चन चुनाव लडेर जितेपछि उनले अर्कोपटक चुनाव लड्दिनँ भनेर कान समाते र यो मेरो क्षेत्र होइन भनेका थिए,’ एमाले महासचिव पोखरेलले भने, ‘फेरि कलाकारितामा फर्किए र आज उनी सफल कलाकारका रूपमा चिनिन्छन्। तर, हामी कहाँ के भएको हो? एउटा क्षेत्रमा थोरै चर्चा पाउन के सुरू गर्या हुँदैन त्यसपछि उसले राजनीतिका सपना देख्न थालिहाल्छ अनि राजनीतिलाई विभाजित गरिहाल्छ।’