काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलबाट एक/एक जना मन्त्री फिर्ता बोलाउन राखेको प्रस्तावमा एमालेले असहमति जनाएको पाइएको छ ।
सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई समेटेर मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । तर उनको प्रस्तावमा एमालेका अध्यक्ष केपी ओली असहमति जनाए । नाउपा र जपालाई सरकारमा ल्याउने विषयमा प्रचण्डले जेठ २२ गते एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले र माओवादीबाट एक/एक जना मन्त्री फिर्ता बोलाउने प्रस्ताव राखे पनि ओली सहमत नभएको एक नेताले बताए ।
नाउपा र जपालाई सरकारमा कसरी समेट्ने भन्ने विषयमा गठबन्धन दलहरूबिच छलफल जारी रहेको उनले बताए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नाउपा र जपालाई सरकारमा ल्याउने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताए ।





