काठमाडौँ, २ जेठ । नेपाल एयरलाइन्सले इन्जिन मर्मतका नाममा ११ महिनादेखि गरेको चलखेल र डुबाएको करोडौं रुपैयाँबारे छानवीन रोक्न अनेकौं तिकडम गरेको खुलेको छ ।
न्यारो बडी जहाजको इन्जिन बनाउने नाममा भएको आर्थिक चलखेलबारे प्रश्न उठेपछि अध्यक्ष युवराज अधिकारी विभिन्न शक्तिकेन्द्र धाउन थालेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत हात लिने प्रयासमा लागेका छन् ।
उनले जहाजको इन्जिन बनाउन विलम्ब गरेको, सम्झौता गरेको कम्पनीसँग मिलेमतोमा जहाज बनाउन ढिलो गराई भाडाको इन्जिन प्रयोग गरेको र अस्वभाविक भुक्तानी गरेको लगायतका आक्षेपहरु लागेका छन् । इजरायल एरोस्पेस इण्डटि (आइएआई)सँग जहाजको इन्जिन विग्रेको ७ दिनभित्र नयाँ इन्जिन उपलब्ध गराउने सम्झौता भएको थियो । त्यसलाई वेवास्ता गरी आइएआईसँग मिली इन्जिन बनाउन ढिलाई गरेको आरोप अध्यक्ष अधिकारीमाथि छ ।
इन्जिन विग्रेपछि सम्बन्धित कम्पनीलाई ताकेता गरी समयमै बनाएर खर्च घटाउनुपर्नेमा जहाजलाई नै कहिले दोहा, कहिले इजरायल पुर्याई ढिलाई गरिएको थियो । त्यसको मर्मत खर्च अत्यधिक बढाएर ७४ मिलियन डलरसम्म पुर्याउन लगाइएको छ । सबैभन्दा रहस्यमय कुरा त जहाजको बनाउन लगिएको इन्जिन पनि कहाँ छ भनी सार्वजनिक जानकारीमा ल्याइएको छैन । जहाज बनाइयो भनेपनि भाडाको इन्जिन प्रयोग भएको तर वास्तविक रुपमा आफ्नै जहाजको इन्जिन भने बनिसकेको छैन ।
तर, मर्मत भन्दै थन्क्याउँदै लाखौं डलर रुपैया कहाँ कसरी भयो भन्ने प्रश्न उठेको छ । यो बारेमा पर्यटन मन्त्रालय र अख्तियारबाट सोधनी हुँदा अध्यक्ष अधिकारीले गोलमटोल जवाफ दिने गरेको निगम स्रोतले जानकारी दियो । धेरै रकम हिनामिना भएको छ । यसले गर्दा राष्टकै बेइज्जत भएको छ, निगमका कर्मचारी युनियनका एक सदस्यले भने । उनीहरुले आफ्नो जहाजको इन्जिन लुकाइएको विषयमा चर्को आवाज उठाउने भएका छन् ।
उता, अधिकारी भने अख्तियारले छानवीन गर्दै गरेको विषय रोक्न अख्तियारकै एक सहसचिवको सहारा लिइरहेको बुझिएको छ । त्यही कारण पाइलटहरुसँग उनी अख्तियार मैले मिलाइसके भन्दै चुरीफिरी गर्दै हिंड्ने गरेको छ । यो विषयलाई लम्ब्याउन र आलटाल गर्न ढिलै भएपनि बोर्डबाट एक छानवीन समिति बनाएको बुझिएको छ । अख्तियारको सक्रियतालाई रोक्नका लागि यस्तो प्रपञ्च गरेपनि मन्त्रालयले यो विषयलाई चर्को ढंगले उठाउने तयारी गरेको छ ।