काठमाडौँ, २ जेठ । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुमा कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो ।
ठुलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६/७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए ।
पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बीमा कार्यक्रममा समेटिएको रावलले बताए । उनका अनुसार पालिकाले बीमाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ ।