काठमाडौँ, २४ वैशाख । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको छ ।
लुम्बिनीमा आइतबार आयोजित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको समापनका सहभागीले बुद्धजन्मस्थललाई बौद्ध दर्शनको उद्गमस्थलका रुपमा प्रवर्द्धन गर्न र शान्ति सहर घोषणाको माग गरेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा लुम्बिनीमा आयोजित ‘विश्वव्यापी चुनौतीको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीका सहभागीहरुले राजनीतिक व्यवस्थाको परिवर्तन र द्वन्द्वका विषय समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र सङ्घ समक्ष आग्रह गरे ।
बौद्ध शिक्षालाई विद्यालय तहदेखि शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । “वातावरणीय असन्तुलन, आर्थिक सङ्कट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकूलनताजस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनीकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्न बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौँ”, गोष्ठीपछि सार्वजनिक गरिएको सात बुँदे लुम्बिनी घोषाणापत्रमा भनिएको छ ।