काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकाससम्बन्धी नीति एमालेसँग मात्रै भएको दाबी गरेका छन् ।
आज इलाम–२ को उपनिर्वाचनको विजयी सभामा अध्यक्ष ओलीले अनेक भ्रम फैलाइरहेका बेला सुहाङ नेम्वाङले अत्यधिक मतले विजयी हुनु सानो कुरा नभएको बताए ।
पहिचनावादी उमेदवार डकेन्द्रसिंह थेगिमतिर संकेत गर्दै ओलीले व्यक्तिगत पहिचान बनाउन खोजे सफल नहुने टिप्पणी गरे । “पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ?,” उनले भने, “हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौँ भने सफल हुन सक्दैनौँ ।”
ओलीले ‘समृद्धि नेपाल र सुखी नेपाली’ पहिचान भएको बताए । प्रदेशको नाममा पहिचनाको कुरा नरहेको उनको भनाइ छ । उनले इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले र नेम्वाङको जिम्मा आफूले लिने बताए । “सुहाङ नेम्वाङले राम्रो काम गर्नुहुन्छ । नराम्रो काम गर्नुहुन्न,” उनले भने ।
नेम्वाङले चुनाव जितेपछि शिर झुक्न दिन्न भन्ने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष ओलीले ०४८ को मतदान जितेपछि आफूले गरेको प्रतिबद्धता स्मरण गरे । “०४८ सालको चुनाव जितेपछि पहिलो भाषणमा मैले भनेको थिएँ । उहाँले त्यसै भन्नुभयो,” उनले भने ।
एमालेमाथि उठेको प्रश्नको जवाफ कार्यकर्ताले दिएको उनले बताए । टिकट दिँदा सुवास नेम्वाङका छोरालाई टिकट दिएकोमा आपत्ति जनाएकोप्रति उनको संकेत थियो ।
“अनेक प्रश्न उठेका थिए । हरेक प्रश्नको जवाफ व्यवहारबाट दिनुभएको छ,” उनले भने, “एमालेमा असन्तुष्टि हुन्छ । राजाको छोरा राजा हुन्छ , कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र उहाँको छोरा राजा हुन्छ ? उहाँ त संविधानको निर्माता, सांसद, एउटा योद्धा हुनुहुन्थ्यो । योद्धाको छोरा योद्धा नभएर बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?”