काठमाडौँ, ३० चैत । काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित पानी परेको छ ।
यसले प्रदूषण कम गर्न सहयोग गरेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौँ उपत्यकामा हल्का पानी परेकाले प्रदूषण कम हुन थालिसकेको बताए ।
उनले भने, ‘वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेको छ । त्यसले गर्दा काठमाडौँ नजिकका पहाडहरु छ्याङ्ग देखिन थालिसकेका छन् ।’
केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौँ विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान पनि काठमाडौँको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेकोमा यो समाचार तयार पार्दासम्म १५८ मा झरेको छ । मौसमविदले काठमाडौँमा पानी अझै केहीबेर पर्ने भएकाले प्रदूषण अझै घट्ने पनि बताएका छन् ।