काठमाडौँ, २३ चैत । सिक्री लुटपाट गर्ने र खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भुको टोलीले पैदलयात्रीले गलामा लगाएको सिक्री लुटपाट गर्ने र खरिद गर्ने काभ्रेको सिसाखानी घर भएका ३८ वर्षीय राजकुमार लामा र नुवाकोटको बिदुर नगरपालिका–१३ खुर्साने घर भएका ३४ वर्षीय राजन सुनुवार पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये लामाले मोटरसाइकलको पछाडि बसेर पैदलयात्रीको गलाको सिक्री लुटेको आरोप छ । सुनुवार भने गरगहना पसल सञ्चालन गर्ने व्यक्ति हुन् । लुटेको सुनको सिक्री उनले किनेको प्रहरीले जनाएको छ ।
१९ चैत दिउँसो साढे १ बजेतिर नागार्जुन नगरपालिका–३ हलचोक पाँचधारास्थित पैदलयात्री अनिता बरामुको गलामा लगाएको सिक्री लामाले लुट्न खोजे पनि असफल भएका थिए । त्यसको आधा घण्टापछि कीर्तिपुर पुगेर कमला बस्नेतको सिक्री लुटेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसी सिक्री थुतेर लामा फरार भएका थिए । लुटपाटमा संलग्न मोटरसाइकल चालक भने फरार छन् ।






