काठमाडौँ, ९ चैत । नेपाल प्रहरीमा ८ एसपीका पद रिक्त छन् । साउनदेखि चैतसम्मको १० महिना अवधिमा ८ एसपीका पद रिक्त हुँदा पनि अहिलेसम्म बढुवा हुन सकेको छैन । डीएसपीबाट एसपी बढुवाका लागि ८ साउन २०७२ मा डीएसपी भएका १२ जना प्रतिस्पर्धामा छन् ।
प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने हुन्छ । दफा २६ मा लेखिएको छ, ‘(१) नियम ९ बमोजिम प्रतिशत निर्धारण भई बढुवाद्वारा पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा समितिले पदपूर्ति गरिसक्नु पर्नेछ ।’
प्रहरी नियमावलीमै प्रष्ट रुपमा तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने उल्लेख भए पनि पद रिक्त भएको १० महिना बित्न लाग्दा समेत प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुन सकेको छैन ।