काठमाडौँ, ९ चैत । आज विश्व पानी दिवस । पानी हाम्रो जीवनको आधार हो ।
हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन् । शुद्ध पानी हाम्रो जीवन नै हो। खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनि पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा मनतातो पानी र त्यस पानीमा थोरै कागती मिसाएर खानु निकै राम्रो मानिन्छ ।
प्रशस्त पानीले हाम्रो पाचन प्रणालीमा पनि ठूलो भूमिका खेलेको हुन्छ । पानी बिना शरीरका कुनै पनि क्रिया चल्दैनन् । प्रत्येक मान्छेले दैनिक रूपमा डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनु पर्ने चिकित्सकहरू बताउँछन् ।
टाइफाइड र झाडापखाला : दूषित पानी खाँदा टाइफाइड हुन्छ । टाइफाइड ब्याक्टेरियाबाट हुन्छ। जुन व्यक्ति टाइफाइड संक्रमित छ । उसको दिशा, पिसाबमा कीटाणु हुन्छ र संक्रमित व्यक्तिले राम्रोसँग हात धोएन भने अरूलाई सर्न सक्छ। टाइफाइड भएको व्यक्तिलाई उच्च ज्वरो आउने, वान्ता हुने झाडापखाला लाग्ने हुन्छ। कतिपय अवस्थामा झाडापखाला जीवनजल, नुन पानी खाँदा ठिक हुन्छ । तर, टाइफाइड भयो भने औषधि खानुपर्ने हुन्छ। यसको उपचारका लागि एन्टिबायोटिक खानुपर्ने हुन्छ । झाडापखाला, टाइफाइड जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ ।
कस्तो पानी पिउने ?
एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी नपिउने,
– पानी उमालेको मात्र पिउने,
– पानी फिल्टर गरेर पिउने,
– जहाँ पायो त्यही बाहिरको पानी नपिउने,
– खोला, धारा, इनारको पानी त्यसै पिउनु राम्रो हुँदैन ।
– पिसाब लाग्ने गरी पानी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ।
-पानीमा आइस हालेर पिउनु राम्रो नमानिने चिकित्सकहरू बताउँछन् ।