सुर्खेत, ८ चैत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् ।
आज एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् ।
उनले भने, ‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौं भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ,’ ‘अगाडि बढेर उहाँहरूले नै भन्नुपर्छ- हामीले धेरै पटक नेतृत्व गर्यौं कमरेड, अब एक पटक तपाईंहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौं ।’
उनले बीपी कोइरालाको कम्युनिस्ट पार्टीसँग सहकार्य नगर्ने मान्यताका कारण पञ्चायत ३० वर्षसम्म रहनुको कारण बनेको बताए । बीपीका कारण पुष्पलालका नीतिहरू उनको जीवनकालसम्म पनि लागू हुन नसकेको उनले बताए । कम्युनिस्टहरूलाई लडाएर लाभ कसरी लिन सकिन्छ भन्नेतर्फ कांग्रेस अग्रसर रहेको उनको भनाई छ । ‘नेपालको राजनीतिक अस्थिर हुनुको कारण पनि कांग्रेस हो,’उनले भने, ‘विचारका आधारमा होइन स्वार्थका कारण राजनीतिक गर्ने काम गरिरहेको छ ।’