१० लाख पार्टी सदस्य बनाउने एमालेको घोषणा

काठमाडौँ, ४ चैत । नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख पार्टी सदस्य बनाउने योजना अघि सारेको छ । एमालेको परिपत्रमा सदस्यता नवीकरणबारे १९ बुँदे निर्देशन दिएको छ । ‘सदस्यता नवीकरणको सवालमा अन्य दलमा भन्दा नेकपा (एमाले)मा पृथक् व्यवस्था छ । आउने नयाँ वर्षका लागि निरन्तरता दिन योग्य र सक्रिय पार्टी सदस्यहरूको सदस्यता नवीकरण विधानबमोजिम हरेक वर्ष फागुन–चैत्रमा हुने व्यवस्थामा सबैलाई अभ्यस्त गराउनैपर्छ’, एमालेको परिपत्रमा भनिएको छ ।

२०८१ सालको निमित्त यही फागुन–चैत महिनामा भइरहेको/हुने पार्टी सदस्यता नवीकरण कार्यमा विगतमा भएका कमीहरू दोहोरिन नदिई चैत मसान्तभित्र जसरी पनि सम्पन्न गर्न  प्रदेश कमिटी र जिल्ला कमिटीले मातहतको पार्टी पंक्तिलाई गम्भीरतापूर्वक निरन्तर सचेत पारिरहनुपर्ने पनि एमालेको परिपत्रमा उल्लेख छ ।

एमालेले सदस्यता नवीकरणका लागि निर्णय गरिएका सदस्यहरूको भौतिक उपस्थितिमा पार्टी नियमावलीको परिच्छेद– २ धारा – ५ को उपधारा (३) बमोजिम २०८१ चैत महिनासम्मको तोकिएको शुल्क लेबी लिएरमात्रै पार्टी सदस्यता नवीकरण गर्न पनि भनेको छ । ‘स्मरणीय छ – यसपटक पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्रत्येक सदस्यले अनिवार्य रूपमा एक सय रुपैयाँ थप सहयोग गर्नुपर्नेछ । पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणमा थप सहयोग गर्न चाहनेका लागि अलगै व्यवस्था गरिनेछ’, एमालेको परिपत्रमा भनिएको छ ।

सदस्यता नवीकरणका सन्दर्भमा तोकिएको समय र स्थानमा उपस्थित हुन नसकेका योग्यतम सदस्यहरूलाई पुनः आमन्त्रण  गरेर पनि नवीकरण गराउन एमालेले भनेको छ । ‘त्यति गर्दा पनि सम्बन्धित सदस्यको कारणवश उपस्थिति हुनसकेन भने तोकिएका जिम्मेवार कमरेड घरमै पुगेर भौतिक उपस्थितिमै सदस्यता नवीकरण गर्नुपर्नेछ’, महासचिव पोखरेलले जारी गरेको परिपत्रमा भनिएको छ ।

हाल साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको जनाएको एमालेले अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य सङ्ख्या बढाउने गरी सदस्यता वितरण र नवीकरण गर्न एमालेले पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । तर सदस्यता नवीकरण गर्दा कसैले एकमुष्ट शुल्क लेबी तिरिदिने, सदस्यहरूको सूचीमा हेराफेरी गर्ने लगायतका अनुचित तरिका गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्नेहरू आज स्वयं

काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन

काठमाडौँ, २८ बैशाख । सर्वाेच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न

काठमाडौँ, २८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेमा नेतृत्व परिवर्तन