काठमाडौँ, ३ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।
आज राष्ट्रिय वाणिज्य बैंकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न सचेत गराएका हुन् ।
उनले भने, ‘इन्भारोमेन्टल र सोसियलसँग गाँसिएकाका रिस्कहरू अझै जबरजस्त रिस्कहरू छन् । हाम्रो प्रत्यक्ष उदाहरण छ–मेलम्ची । त्यत्रो लगानी गरेर हामीले बनायौँ । एउटा बाढीले सखाप पारिदियो । एउटा बैंकको लगानी त्यहाँ हुँदो हो, बैंकको अवस्था के हुन्थ्यो ? त्यसले कति लस क्रिएट गर्दथ्यो ? त्यसले गर्दा बैंक, वित्तीय संस्थाले भोलिको दिनमा आफूले लगानी गरिराख्दाखेरी ख्याल गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा इन्भारोमेन्टल रिलेटेड राष्ट्र बैंकले निर्देशन पनि जारी गरेको छ । २०१८ मा नै यो जारी गरिएको हो । र २०२२ मा त्यसलाई रिभाइज गरिएको छ । त्यसैगरी क्लाईमेट रिलेटेड अध्ययनहरू पनि भइराखेको छ । हामीले यही साल मात्रै २०८० मा मात्रै ग्रिन फाइनान्स टयाक्स इकोनोमीको डकुमेन्ट एक्सरसाइज गरिराखेका छौँ । त्यो पब्लिक कन्सलटेशनका लागि लगिसकेका छौँ । त्यसकारण केन्द्रीय बैंक, नेपाल सरकार सबै यो क्लाइमेटसँग गाँसिएको रिस्कमा कमिटेड छ । सम्माननीय प्रधानमन्त्रीज्यूले कोप–२८ मा गएर पनि हाम्रो कमिटमेन्टहरु स्पष्ट रूपमा रिफ्लेक्ट गर्नुभएको छ । त्यसले गर्दा बैंक, वित्तीय संस्थाको तर्फबाट पनि हामीले लगानी गर्दा क्लाइमेटसँग रिलेटेड रिस्कहरूलाई हामीले ख्याल गर्नुपर्ने आवश्यकता छ, जसले गर्दा हामी दिगो आर्थिक विकासका लागि प्रतिबद्ध रहनेछौँ, हुनेछौँ । र हाम्रो आन्तरिक व्यवस्थापनमा पनि जोखिम नियन्त्रणका लागि त्यत्तिकै सबल हुनेछौँ ।’