काठमाडौँ, २२ फागुन । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका अनुसार चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।
मिड–विन्टर वाटर वर्ड सेन्सस् २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका पाँच हजार पाँच सय २७ वटा चरा फेला परेको छ । गएको वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क छ । बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रले जनाएको छ ।