भैरहवा, २० फागुन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताएका छन् । उनले आन्तरिक सुशासन कायम नगरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण तथा जनतालाई सहज सेवा प्रवाह हुन नसक्ने स्पष्ट पारे ।
आज शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सीमित साधन र स्रोतका कारण विकास र समृद्धिका क्षेत्र गुणात्मक परिवर्तन गर्न नसकिएको बताए । सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र मानी अगाडि बढेको उनको भनाइ थियो । समृद्धिका लागि सुशासन पहिलो सर्त भएकोसमेत उनको भनाइ थियो ।