काठमाडौँ, १८ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाही हुने बताएका छन् ।
आज राष्ट्रियसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई सरकारले निरुत्साहित गर्ने पनि बताए ।
उनले भने, ‘प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेसा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न जरुरी छ । त्यसतर्फ सरकार सचेत छ । त्यसैले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने तथा यस कार्यमा सघाउने व्यक्ति, एजेन्सीलाई कानूनी कारबाहीको दायरामा ल्याउने कुरामा सरकार क्रियाशील रहेको कुरा म जानकारी गराउन चाहन्छु ।’