काठमाडौँ, १७ फागुन । देशभरका किसानले दूधको भुक्तानी नपाएको भन्दै आन्दोलन चर्काएका छन् । आज नवलपरासी, मकवानपुरलगायतका जिल्लाका किसानहरूले सडकमै दूध पोखेर विरोध गरेका हुन् ।
नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् । किसानहरूकाे प्रदर्शनका कारण केहीबेर राजमार्ग पनि बन्द भएको थियो । किसानहरूले ‘मिल्क होलिडे’ अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् ।
यस्तै उद्योगलाई बेचेको दूधको पैसा नपाएपछि मकवानपुरका दुग्ध किसानले पनि विरोध प्रदर्शन गरेका छन् ।