काठमाडौँ, २९ माघ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक तथा वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्ने बताएका छन् ।
आज राष्ट्रियसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले मुलुकको आर्थिक तथा वित्तीय अवस्थालाई सुदृढ बनाउँदै यससम्बन्धी अपराध नियन्त्रण गर्न विधेयक ल्याइएको बताए । मुलुकमा वित्तीय पारदर्शीता र लगानीको वातावरण बनाउन विधेयक महत्त्वपूर्ण हुने उनले बताए । सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र सुपरिवेक्षण राष्ट्र बैंकले गर्न सक्ने व्यवस्था गरिएको धारणा राखे । मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम कुनै व्यक्तिको सम्पत्तिको स्रोत पनि खुल्न नसकेको र अपराध पनि नदेखिएको सन्दर्भमा राज्यलाई कर तिराएर सम्पत्ति वैध गर्न सकिने व्यवस्था गरिएको बताए ।