काठमाडौँ, २५ माघ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा करिब दुई हजार सेट डस्टबिन राख्ने भएको छ ।
उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९ सय ५० सेट बिन राख्ने महानगरपालिकाले जनाएको छ । एउटा सेटमा २ वटा बिन हुन्छन् । महानगरपालिकाले कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन राख्न लागेको हो ।
महानगरपालिकाले सबै ठाउँमा एकैपटक काम गर्दा नतिजा आउन नसक्ने भएकाले नमुनाका लागि वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोरमात्र संकलन गर्न थालेको हो । मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । १ सय २५ लिटर क्षमताका दुइटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य ५ हजार ४ सय ५० रुपैयाँ र बिनको ३ हजार ८ सय ९० रुपैयाँ हो ।