काठमाडौँ, २४ माघ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्तुत गरेका थिए । मन्त्री गुरुङको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय वातावरण निर्माण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न ऐन बनाइएको हो ।
गत असोज २४ गते कानुन, न्याय तथा मानवअधिकार समितिबाट सो विधेयक पारित भएको थियो । विधेयकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । आउँदो फागुन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिए । सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउने विषयमा पनि जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन भएको छ ।