धरहरा निर्माण कछुवा गतिमा, भौतिक प्रगति ९२ प्रतिशत

काठमाडौँ, २४ माघ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। 

२०७५ पुसदेखि निर्माण कार्य सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसबिचमा छैटौँ पटक थप गरिएको म्याद पनि यही माघ ४ गते नै सकिइसकेको छ । अब सातौँ पटक म्याद थप्न प्रक्रिया अगाडि बढाइएको छ । अब कति समय दिने भन्ने छलफलकै क्रममा रहेको जानकारी दिइएको छ ।

धरहराको अहिलेको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ७८.६ प्रतिशत पुगेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अगाडि बढाइएको थियो भने अहिले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत भइरहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमणबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण कार्य सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप