काठमाडौँ, ३ माघ । नेप्से परिसूचक आज १२.१० अंकले घटेर कारोबार भएको छ ।
आइतबार र मंगलबार लगातार ८१ अंक बढेकोमा आज घटेर बन्द भएको छ । लगानीकर्ताका अनुसार आजको बजार ‘करेक्सन’ भएको हो । तर, घटेको बजारमा पनि चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यसदिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत र गरिमा डिभेञ्चर, २०८५ को मूल्य ९.८९ प्रतिशतले वृद्धि भएको छ ।
यसदिन सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालयन रिइन्स्योरेन्सको भएको छ । यो कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिको सेयर मूल्य ६०२ रुपैयाँ कायम भएको छ ।