डेढगाउँ-झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

त्रिवेणी (नवलपरासी), ३ माघ । कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले आयोजनालाई प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले जानकारी दिए । 

डेढगाउँ–झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलव एक किलोमिटर सडक निर्माण अघि बढिरहेको छ । विसं २०७९ वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको उक्त खण्ड  विसं २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ३२ करोड २० लाखको लागतमा सडक निर्माण लामा गौरीशंकर जेभीले गरिरहेको छ । नालासहित कालोपत्रे गर्ने योजनाका साथ काम चलिरहेको उक्त खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको इन्जिनियर घिमिरेले बताए । उनका अनुसार नाला निर्माणसँगै ठाउँ–ठाउँमा ग्याविन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी छ । 

सम्झौताको २१ महिना सकिएको छ भने अब १० महिना बाँकी छ । सम्झौताको अवधिभित्रै काम सक्नेगरी लागिरहेको इन्जिनियर घिमिरेले बताए । सडक चौडा पार्ने, ग्याविन भर्ने, छेउछाउमा पर्खाल लगाउनेजस्ता मुख्य काम धेरैजसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उनको भनाइ छ । “सुरुमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन् । निर्माण नियमित सञ्चालन भए, सम्झौता अवधिमा नै सबै काम सम्पन्न हुन्छ”, उनले भने । 
 
नवलपुरको डेढगाउँबाट सुरु हुने सो सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको समेत अगाडि बढेको इन्जिनियर घिमिरेले बताए । “पहिलो खण्डको १४ किलोमिटरपछि थप सात किलोमिटर सडक निर्माण अगाडि बढेको छ, चाँडै सम्झौता भएर अर्को खण्डको काम सुरु हुन्छ”, उनले भने । डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहनेछ ।  गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमशः सबै खण्डको काम अघि बढ्ने उनले बताए । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । 

चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य छ । तर दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन । उक्त सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ । मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्