काठमाडौँ, २८ पौष । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राससलाई जानकारी दिए ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उमेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उमेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् ।