काठमाडौँ, २८ पौष । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पनि चिसो बढेकाले भूकम्प प्रभावितलाई स्वास्थ्यको विशेष ख्याल राख्न मौसमविद्ले आग्रह गरेका छन् ।
दिउँसोपख चिसो अझै बढ्ने भएकाले न्यानो लुगा लगाउन, तातो झोलिलो खानेकुरा खानुुका साथै वृद्धवृद्धा र बालबालिकाको हेरचाहमा ध्यान दिन मौसमविद् मिनकुमार अर्यालको आग्रह छ । भूकम्पले घर भत्किएपछि जाजरकोट र रुकुुम पश्चिमका धेरै परिवार झण्डै साढे दुुई महिनादेखि त्रिपालमुनि बस्न बाध्य छन् । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण भूकम्प प्रभावितहरू बढी समस्यामा परेका छन् ।
यस्तै, लगातारको बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । तराई मधेस क्षेत्रको मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहर घोषणा गर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नै शीतलहर भने चलिसकेको छैन । आज उच्च पहाडी भेगमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको र तत्काल पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।