काठमाडौँ, २३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन गर्नेगरी ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।
आज दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, घर न घाट भएका छन् । उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस् ।’
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरी निर्णय गरेर जानुपर्ने बताए । बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।