मकवानपुर, ३ पौष । अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार आएको बताएका छन् ।
आज हेटौँडामा आयोजित एक कार्यक्रमका बिच मन्त्री महतले अर्थतन्त्रमा आएको सङ्कुचन क्रमशः घट्दै गएको र देशको आर्थिक स्थिति सुधार हुँदै गएको बताए ।
उनले भने, ‘कोरोना सङ्क्रमणको उच्च जोखिमका पुँजी प्रवाह बढी भएको थियो । त्यस बेलामा बैङ्कहरूले ब्याजदर घटाएर पुँजी प्रवाह बढाएका थिए । सो पुँजी घरजग्गा कारोबार, सेयर बजारमा बढी खर्च भयो । खर्च गर्ने ठाउँ नभएको अवस्थामा पुँजी प्रवाह बढी भएको थियो । जसले गर्दा अर्थतन्त्रमा समस्या देखियो ।’ ‘अहिले समस्या समाधान तर्फ गइरहेको छ । अहिले निकै सुधार भएको छ ।’
अर्थतन्त्रमा आएको समस्याका कारण उद्योगी व्यापारीहरूमा परेको समस्या समाधानका लागि राष्ट्र बैङ्कसँगको छलफलमा ब्याजदार घटाउने पहल सरकारले गरेको र उक्त पहलबाट हाल बैङ्कहरूले ब्याजदर घटाउने क्रममा रहेको उनले बताए । बैङ्कहरूको ब्याजदर घटाउने र पुराना ऋणीहरूको सहजताका लागि चैतसम्मको समय सीमा दिएर ऋण भुक्तानीको व्यवस्था मिलाउन सरकारले राष्ट्र बैङ्क मार्फत निर्देशन दिएको मन्त्री महतले बताए । मौद्रिक नीतिले पनि उक्त समस्याहरूको समाधानका लागि केही प्रयासहरू गरेको उनको भनाई छ ।