काठमाडौँ, २ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडिरहेको बताएका छन् ।
आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई दशरथ रङ्गशालामा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि नेपालीले गर्नु परिरहेको बताए ।
उनले भने, ‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईँ हामीहरूले नै गर्नुपरेको छ ।’
राष्ट्रपति पौडेलले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने कुरा निर्विवाद रहेको बताउँदै कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सिप, प्रविधिको विकास र प्राप्तिमा निर्भर पर्ने उल्लेख गरे । ज्ञान, सिप, प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्चशिक्षा समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समय सापेक्ष नीति अँगाल्नु जरुरी रहेको उनको भनाई थियो ।