प्रहरी भवनको उद्घाटन, भक्तपुरमा तालिम केन्द्र बनाइने

भक्तपुर, ३० मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, डोलेश्वरमा प्रहरी चौकी भवन निर्माण गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नवनिर्मित भवनको उद्घाटन गरे ।

अतिरिक्त महानिरीक्षक थापाले काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाका लागि दक्ष जनशक्ति उपत्पादन गर्न भक्तपुरमा तालिम केन्द्र बनाउने तयारी गरेको बताए । उपत्यकाका बासिन्दाको शान्ति सुरक्षार्थ १२ हजार प्रहरी जवान क्रियाशील रहेको भन्दै उनले तिनीहरुको क्षमतावृद्धिका लागि तालिम कक्ष निर्माण आवश्यक भएकाले ८० रोपनी जग्गा निःशुल्क प्राप्तिका लागि आह्वान गरेको बताए ।

जनताको शान्ति सुरक्षाका लागि समुदाय प्रहरी साझेदारीले महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै अतिरिक्त महानिरीक्षक थापाले उपत्यकामा हुने अपराधका घटना कम गर्न नागरिकसँगको हातेमालोमा विभिन्न रणनीति तयार गरी अगाडि बढिरहेको बताए । 

बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रहरीचौकी निर्माणसँगै डोलेश्वर क्षेत्रमा अपराधका घटनामा कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले घ्याम्पेडाँडा क्षेत्रको भौगोलिक अवस्थाको फाइदा उठाउँदै चोरीका मोटरसाइकल र लागुऔषधको कारोबारीको गतिविधि बढेको जनगुनासो आइरहेकाले त्यस क्षेत्रमा पनि प्रहरी युनिट स्थापना गर्न सुझाव दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष पुष्पराज बस्नेतलगायतले यहाँको अपराध न्यूनीकरणमा स्थानीयवाससँग प्रहरीको हातेमालो आवश्यक रहेको औंल्याए ।

कूल एक करोड १२ लाख ५६ हजार रुपैयाँमा तयार भएको साढे दुई तले उक्त भवनमा कार्यालय, प्रहरी, ब्यारेक, थुनुवा कक्ष, मेसलगायतको व्यवस्था रहेको छ । कूल १५ जनाको दरबन्दी रहेको उक्त प्रहरी चौकीमा हाल प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठ जनाले सेवा प्रदान गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।