काठमाडौँ, २९ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियामक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल आग्रह गरे । उनले व्यावसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ । बीमा कम्पनीहरूले लिन बेला विज्ञापन गर्ने, रिर्सोयस जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेयरको काम आउँछ । उनीहरूको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ । बीमा सर्भेयर महत्त्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । बिमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका महत्त्वपूर्ण हुन्छ ।’