माओवादी नेतृत्व सत्तामा : लडाकु परिवारका लागि रुसी सेनामा

काठमाडौँ, २८ मंसिर । माओवादी नेतृत्वको १० वर्षे द्वन्द्वमा गाउँबस्तीका किशोरकिशोरी पढाइ छाडेर ‘देश बनाउने’ अभियानमा जुटेका थिए, संयोगले आज देशमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार छ । तर, हिजो देश बनाउन हिँडेका कतिपय युवा आज विदेशी भूमिको रक्षार्थ रुसी सेनामा भर्ती भएका छन् ।

एजेन्टको भ्रममा परेर रुसी सेनामा भर्ती भएका युवालाई सिधै ‘रेडजोन’ मा पठाइएपछि कतिपय घाइते भएका छन्, कतिपयले अरू नेपालीलाई त्यता नआउन अपिल गरेका छन् । रुकुमको खारा मूल घर भएका रामचन्द्र खड्का पढाइ छोडेर तत्कालीन माओवादी लडाकुमा सामेल भएका थिए, उनी कम्पनी कमान्डरसम्म पनि भएका थिए । शान्ति प्रक्रियापछि बेरोजगार भएका उनी अफगानिस्तान पुगेर नेटो सेनाको सहयोगीका रूपमा दुई वर्षभन्दा बढी काम गरेका थिए । त्यसपछि वैदेशिक रोजगारीका लागि दुबई र कुवेतमा तीन वर्ष बिताएका थिए । २०६८ सालमा रुकुमबाट दाङ झरेका उनले तुलसीपुर–१९, थानगाउँमा व्यावसायिक कागती खेती पनि गरेका थिए । तर, खासै उपलब्धि नभएपछि विकल्प खोजीमा लागेका उनी रुसी सेनामा भर्ती हुन त्यता लागेका हुन् । अर्काको देशको रक्षार्थ लडाइँमा जाँदा पनि उनले ऋण गरेर एजेन्टलाई सात लाख बुझाउनुपरेको थियो ।

अहिले ३७ वर्षका खड्का तीन महिनाअघि भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए । भूगोल, हावापानी र रणनीति केही नबुझेका उनी युक्रेनको बागमोथमा बम आक्रमणमा घाइते भएका छन् । खड्काका एक साथीले कान्तिपुरसँग भने, ‘करिब एक महिनाको तालिमपछि नै उनलाई रेडजोनमा पठाइएको थियो । उता (युक्रेन) तर्फबाट हानिएको बम विस्फोट हुँदा बायाँ खुट्टा र कम्मरमा बमका छर्रा लागेका छन् । गोली पनि लागेकाले खड्काको मस्कोस्थित अस्पतालमा उपचार भइरहेको छ ।’ खड्कासँगै अरू नेपाली र माओवादीका पूर्वलडाकुहरू पनि घाइते भएको तर विस्तृत विवरण बाँकी रहेको खड्काका साथीहरूले बताएका छन् ।

रामचन्द्र उपचारका क्रममा छन्, यता परिवार भने रामचन्द्रलाई सञ्चो भएपछि रुसी सेनाले फेरि लडाइँमा पठाउने हो कि भनेर चिन्तित छ । तुलसीपुरमा रहेका बुबा, श्रीमती र दुई छोरा यही असमञ्जसमा छन् । माओवादीकै अर्का पूर्वलडाकु डायमन्ड सी पनि आफ्नो विगत र वर्तमानको अन्तरविरोधबीच रुसको तर्फबाट बन्दुक बोकेर युक्रेन पुगेका छन् । उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि स्वेच्छाले रुसी सेनामा भर्ती भएको उनको भनाइ छ ।

‘हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमूल परिवर्तनका लागि बन्दुक बोकेर झन्डै एक दशक रगत/पसिना बगाइयो, अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन,’ उनले रुसी सेनाको बर्दी र बन्दुकसहितको फोटोसहित बुधबार फेसबुकमा लेखका छन्, ‘परिवर्तनका लागि दशकौं योगदान गरेका हजारौं योद्धाहरू आज परिवार पाल्नकै लागि विदेशका गल्लीगल्लीमा भौंतारिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।’

पृष्ठभूमि, कथाव्यथा भिन्नभिन्न भए पनि बाध्यताले नेपाली युवाहरू रुसी सेनामा भर्ती भई युद्धको मोर्चामा खटिएको उनको भनाइ छ । ‘देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीका रूपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ । स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइलापाइलामा चुनौती त छ नै । यद्यपि हार कहिल्यै मानिँदैन, गन्तव्यमा पुग्ने दृढ आत्मविश्वास यथावत् छ,’ उनले लेखेका छन् ।

रुस–युक्रेन युद्धमा लागेका नेपाली युवाको अवस्थाका बारेमा समाचारहरू आइरहेका बेला पनि त्यही जान भनेर धेरै युवाले जानकारी मागिरहेको डायमन्डले बताएका छन् । ‘सयौं साथीहरूले रसिया भर्ती हुन आउनुपर्‍यो, के–कसरी हो ? च्यानल मिलाइदिनुपर्‍यो भनेर म्यासेज गरिराख्नुभएको छ, एक–एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन, तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी– यहाँ अहिले भर्ती बन्द छ, दलालहरूको भ्रममा नपर्नुहोला ।’

नेपाली युवालाई रुसी सेनामा भर्ती गर्ने सम्बन्धमा दुई देशबीच कुनै सन्धिसम्झौता छैन । रुसले नेपाली युवालाई गैरकानुनी रूपमा सेनामा भर्ना मात्र गरेको छैन, युवाहरूलाई आधारभूत तालिमसमेत नदिई अग्रमोर्चा (रेडजोन) मा पठाउने गरेको छ । भूगोलको अज्ञानता र प्रतिरक्षासम्बन्धी न्यूनतम सीपबिना लडाइँमा पठाइएकाले अधिक मानवीय क्षति हुने गरेको छ ।

कात्तिक पहिलो साता रुसी सेनामा भर्ती भएका एक नेपालीले आफूलाई १८ दिन मात्रै तालिममा राखेर हतियार बोकाई ‘रेडजोन’ मा खटाइएको बताए । ‘१८ दिनको तालिममा युद्धसम्बन्धी कुनै सीपको कुरा नै थिएन । फायरिङ नै नगराई सिधै युक्रेनको भूमिमा ल्याएको हो,’ ती नेपालीले कान्तिपुरसँग भने, ‘पूर्वसैनिकसँग केही अनुभव हुन्छ, सैन्य कला र रणनीतिसम्बन्धी ज्ञान हुन्छ । हामीजस्ता सिभिललाई के थाहा हुन्छ र ?’

यसरी ‘रेडजोन’ मा कति नेपाली मारिए र कति घाइते भए भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । रेडजोनमा खटिएर सम्पर्कमा आएका जसले पनि आफ्ना अगाडि साथीहरू मारिएको विवरणहरू भने दिइरहेका छन् । परराष्ट्र मन्त्रालयले युक्रेन युद्धमा हालसम्म ६ जना नेपाली मारिएको पुष्टि गरिसकेको छ । रुसका विभिन्न अस्पतालमा घाइते उपचाररत छन् । ‘तलब पनि नपाईकन कति साथीहरूको मृत्यु भयो । कति साथीहरू नेपालबाट पैसा मगाएर फर्किए,’ ती नेपालीले भने ।

उनी भर्ती हुँदा तालिम केन्द्रमा दुई सय नेपाली थिए । उनीहरूलाई समूह–समूहमा बाँडेर अलग–अलग क्षेत्रमा खटाइएको छ । ‘तर, सयमा एक दुई जनाले मात्रै पूरा तालिम पाएको होला । अधिकांश साथीहरूले तालिम लिएका छैनन् । सिभिल साथीहरू युद्धमा बढी मारिएका छन्,’ अर्का नेपालीले भने, ‘तालिम पनि पूरा नगरी एकै पटक बन्दुक हान्न पठाएपछि कहाँबाट बाँचिन्छ त ?’

मानव तस्करको सञ्जालबाट रुसी सेनामा भर्ती भएकाहरूले एजेन्टले आफूहरूलाई धोका दिएको गुनासो गरेका छन् । ‘पहिलो त हामीलाई एजेन्टले युद्धमा तुरुन्तै जानुपर्छ भनेर भनेकै थिएन । ६ महिना पूरा तालिम लिएपछि वर्षमा एक पटक मात्रै रेडजोनमा जानुपर्छ भनिएको थियो,’ युक्रेनको मारियापोलमा तैथान गरिएका अर्का नेपालीले भने, ‘युद्धमा गए पनि रुसी सैनिक नै अगाडि हुन्छन् भनिएको थियो । हामी उनीहरूको साथमा लाग्ने भनिएको थियो । युद्ध क्षेत्रमा पाइला टेकिइसकेपछि हामीले कल्पना गरेको भन्दा निकै फरक हुँदो रहेछ ।’

उनीहरूका अनुसार युद्धका लागि चाहिने आधारभूत तालिम नपाएपछि ज्यानै जोखिम राखेर सैनिक क्याम्पबाट भाग्ने नेपालीहरू पनि छन् । ‘लडाइँमा हामीलाई सिधै प्रयोग गर्दैन होला भनेर सोचेका थियौं । हामीलाई एलो र ग्रिनजोनको सैनिक इलाकाको पोस्टमा राख्ने होला भन्ने थियो । यहाँ त हामीलाई नै अगाडि राखेर उनीहरू हाम्रो पछिपछि लाग्दारहेछन्,’ उनले भने, ‘मजस्ता धेरै साथीहरू करार सम्झौता भंग गर्न चाहेका छौं । कति साथीहरू जोखिम लिएर भागेका छन् । भाग्ने प्रयास गर्दा गोली हानिदिन्छ । भाग्न पनि गाह्रो छ । हामीले भाग्ने प्रयास गरेका छैनौं ।’ उनका अनुसार नेपाली भाग्छन् भनेर निगरानी गर्न थालिएको छ । ‘हामी तीन जना नेपाली छौं । रुसीहरू पनि धेरै छैन । हाम्रो कमान्डर रुसी हो । जहिल्यै मदिरा मात्रै खाएर आउँछ । जतिखेर पनि रिसाउँछ । उसँग दोहोरो संवाद नै छैन,’ उनले भने, ‘एक नेपालीले आफ्नो पोस्ट छोडेर भागेर गयो । उ अहिले कहाँ छ, कसैलाई थाहा छैन । हामी पनि भाग्छौं भनेर कमान्डरले हाम्रो पछाडि दुई जना रुसी सेना तैनाथ गरिदिएको छ ।’

हिउँ नै हिउँले भरिएको क्षेत्रको दैनिकी निकै कठिनाइ भएको नेपालीहरूको अनुभव छ । ‘यहाँको वातावरण पनि हाम्रा लागि सुहाउँदो छैन । यस्तो चिसो छ कि हामीले कहिले अनुमान गरेका थिएनौं । यस्तो चिसोमा युद्ध लड्न मैदानमा जानुपर्छ । हिउँमा हिँड्नुपर्छ । हामीलाई पाल हालेर राख्ने गरेको छ । खानाको नाममा चिया, पाउरोटी, अन्डा र मासु मात्रै हुन्छ,’ अर्का नेपालीको अनुभव छ, ‘म दुबई प्रहरीको तयारीमा थिए । रुसी सेनामा पाउने पैसा र सुविधाको लोभमा परियो । लहलहैमा अर्कोको पछाडि लागेर आइएछ । अहिले मेरो पुस्ताले नपाउने दुःख सहिरहेको छु । यहाँबाट उम्किन चाहिरहेको छु ।’

एकवर्षे सम्झौतामा भर्ती भएका उनीहरूको राहदानी आफ्नो साथमा छैन । ‘मेरो राहदानी सेना आफैंले राखेको छ । १५ दिन रेडजोन युद्ध लडेपछि फर्कियौं । अब फेरि कहिले लैजान्छ भन्ने थाहा छैन । कमान्डरले रेडजोन रेडजोन भनेको बाहेक अरू बुझिँदैन,’ अर्का नेपालीले भने, ‘हामीसँग गएका धेरै साथीहरू फर्केका छैनन् । उनीहरू युद्ध क्षेत्रमै छन् वा अस्पताल छन् ? हामीभन्दा अगाडि नै ल्याएर अर्को क्याम्प लगेको छ कि, केही थाहा छैन । कसैले केही बताउँदैन ।’

उनले अधिकांश नेपाली फर्कन चाहेको बताए । ‘यो युद्ध हाम्रो वशमा छैन । हामीलाई सकुशल फर्काइदिन नेपाल सरकारलाई अनुरोध गर्दछौं । नेपाली दूतावासले हरेक क्याम्पको प्रमुखलाई फोन गरिदियो भने हामीलाई पठाउन सक्छ,’ ती नेपालीले भने, ‘अहिले रुसी सेनामा कम्तीमा ७ सयदेखि हजार नेपाली होलान् । यी नेपालीको ज्यान जोखिममा छन् । अब उनीहरू सबैलाई फर्काउनुपर्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रम भने दुई सय नेपाली रुसी सेनामा भर्ना भएको जानकारी आएको बताएका थिए । रुसमा रहेका नेपालीहरूको के–कस्तो अवस्थामा छन् भन्ने विषयमा भने दाहालले केही खुलाएनन् । साथै उनीहरूलाई नेपाल फर्काउन सरकारका तर्फबाट भइरहेको पहल र प्रयासका बारेमा पनि सरकारले बुधबार साँझसम्म केही बताएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार ११९ रकम राजस्व

काठमाडौँ, ७ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार २७.५४ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभए बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने

काठमाडौँ, ७ जेठ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर (एनपीएल) झन् बढेको छ । अघिल्लो महिना ३.७३ प्रतिशत